धनगढीमा बेपत्ता भएकी ११ वर्षीया बालिका मृत भेटिईन्
धनगढी,असोज १२ । धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना मृत फेला परेकी छन्। बिहीबार साँझदेखि बेपत्ता भएकी उनी शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा भेटिएको हो। शव निर्वस्त्र अवस्थामा भेटिएको र करिब दुई सय मिटर पर उनको कपडा फेला परेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। परिवारजनले घटनाबारे अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

