पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक
काठमाडौं,असोज १२ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार आइतबार बसेको बैठकले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा पनि रोक लगाउने निर्णय गरेको हो।
सदस्य शर्माले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूलाई आवश्यक कारबाही तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाइएको स्पष्ट पार्नुभयो। आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
त्यसैगरी, आयोगको काम प्रभावकारी बनाउन विज्ञसहित थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयमा पत्राचार गरी आवश्यक व्यवस्था मिलाउन निर्णय गरिएको आयोगले जनाएको छ।

