एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ र २८ मा बोलाइयो



काठमाडौं,असोज १३। नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका लागि असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।

गुण्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठकसमेत डाकिएको छ।

‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं। यसबारे निर्णय केन्द्रीय कमिटीले गर्न सक्छ,’ प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो।

ज्ञवालीका अनुसार बैठकले जेनजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आन्दोलनका दोषी, तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ।

त्यस्तै, भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो।

‘सरकारले राजनीतिक दललाई पन्छाउन मात्र होइन, निषेध गर्ने र सम्पर्क–संवाद नगर्ने प्रवृत्ति देखाएको छ,’ उहाँले भन्नुभयो, ‘यी सबै घटनाप्रति हामी गम्भीर र चिन्तित छौं।’

प्रतिक्रिया दिनुहोस्