दशैं मनाउन गाउँ फर्कनेको भीड, एक दिनमै १ लाख ११ हजारले छाडे काठमाडौं



काठमाडौं,असोज १३। फुलपातीको दिनसँगै दशैं मनाउन गाउँ फर्कनेको संख्या तीव्र रुपमा बढेको छ। आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा शहर छाड्ने यात्रुको चहलपहल उल्लेख्य देखिएको छ।

नयाँ बसपार्क, कोटेश्वर, जडिबुटी, कलंकीलगायत स्थानमा यात्रुको भीड बढेपछि सवारीसाधनको चापका कारण विभिन्न नाका अस्तव्यस्त भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा आज बिहान ६ बजेसम्म १ लाख ११ हजार ६३९ जनाले काठमाडौं छाडेका छन्। यस अवधिमा १८ हजार ६१३ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।

उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सोही अवधिमा ६१ हजार ८२२ जना काठमाडौं भित्रिएका छन्। घटस्थापनायता मात्र ४ लाख ६७ हजार ९७७ जनाले उपत्यका छाडिसकेका छन्।

विद्यालय, सरकारी तथा निजी कार्यालयहरूमा समेत विदा सुरु भएकाले आजदेखि उपत्यका छाड्नेको संख्या झनै बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्