अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु र २४ जना घाइते



अर्घाखाँची,असोज १३। अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स जीप आज बिहान सन्धिखर्क–ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको छ।

सोही दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्