नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, आवागमन ठप्प
चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा आज अपरान्ह पुनः सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो निरन्तर खसिरहेको छ र सडकको करिब ७० मिटर भाग ढाकिएको छ।
हाल दुईवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको भए पनि तत्काल यातायात सुचारु हुने सम्भावना कम रहेको जनाइएको छ। गत हप्तामा पनि सोही स्थानमा पहिरो खस्दा सडक सञ्चालनमा ल्याउन ४८ घण्टा लागेको थियो।

