नुवाकोटको तलेजु मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइयो
नुवाकोट,असोज १३ । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा सोमबार विशेष तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ। विदुर नगरपालिका–२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको सलामीबीच बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती परम्परागत विधिअनुसार भित्र्याइएको हो।
सरकारी प्रतिनिधि महेन्द्रकुमार शाहीका अनुसार नुवाकोटमा फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखि प्रचलनमा रहेको छ। १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा नुवाकोट विजय गरेपछि यसको ऐतिहासिक र सांस्कृतिक महत्व झन् बढेको बताइएको छ।
यस अवसरमा साततले दरबार राष्ट्रिय संग्रहालयबाट र्याली निकाल्दै धोवीधाराको चौतारासम्म पुगेर संकलन गरिएको फूलपातीलाई बाजागाजा र उच्च सुरक्षाका बीच तलेजु मन्दिरमा भित्र्याइएको थियो। परम्पराअनुसार ब्राह्मणहरूले संकलन गरेको फूलपाती उपासेहरूले बोकेर ल्याएका थिए। फूलपाती भित्र्याउनुअघि लिपपोत गरी मन्दिर शुद्धिकरण गरिएको थियो।
सो अवसरमा तलेजु भवानी मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बलि दिइएको थियो। सयौंको संख्यामा उपस्थित भक्तजनले बाजागाजासहितको विशेष कार्यक्रम अवलोकन गरेका थिए।
फूलपाती भित्र्याउने संस्कार नुवाकोटमा गोरखा र काठमाडौंको हनुमानढोकासरह महत्वपूर्ण मानिन्छ। नुवाकोटको फूलपातीलाई विजयादशमीको प्रसादस्वरूप काठमाडौंको हनुमानढोका लगिने र त्यहाँ राष्ट्राध्यक्षसहितले ग्रहण गर्ने परम्परा छ।
यसैबीच, नुवाकोटवासीले २०६४ सालदेखि बन्द भएको मंगल गाउने कल्छिनी लाई पुनः सुरु गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग माग गरेका छन्। हनुमानढोकामा जस्तै नुवाकोटको फूलपातीमा पनि मंगल परम्परा निरन्तरता दिन दबाब दिइएको छ।

