नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा



चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज अपरान्ह खसेको सुक्खा पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार अपरान्ह १२ बजे खसेको पहिरो साँझ ६ बजेसम्ममा पन्छाइएको हो। पहिरो पन्छाएसँगै सडक दुवैतर्फका सवारी आवागमन सामान्य भएको बताइएको छ।

यसअघि पहिरोका कारण सडक करिब ६ घण्टासम्म अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका थिए। अधिकारी आचार्यका अनुसार निरन्तर मेसिन प्रयोग गरी पहिरो पन्छाइएपछि मात्र सडक सञ्चालनमा ल्याइएको हो।

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको उच्च जोखिमयुक्त सडक भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्