नेपालले एक खेल अगावै युनिटी कप उपाधि जित्यो



काठमाडौं,असोज १४ । नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० आई सिरिज आफ्नो नाममा गरेको हो। यो नेपालको टेस्ट मान्यता प्राप्त टोलीविरुद्धको पहिलो टी–२० आई सिरिज उपाधि समेत बनेको छ।

जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो। वेस्ट इन्डिजका जेसन होल्डरले १५ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २१ रन बनाए। नेपालका बलरहरू सामु कुनै पनि वेस्ट इन्डिजका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। नन्दन यादव घाइते भएपछि दोस्रो खेलमा मौका पाएका आदिलले प्रतिबन्धपछि पुनरागमन खेलमै उत्कृष्ट प्रदर्शन गरे। कुशल भुर्तेलले १ मेडनसहित १६ रन खर्चेर ३ विकेट झारे। त्यस्तै ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे। सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको धमाकेदार पारी खेले।

सन्दीप र आसिफले चौथो विकेटका लागि सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई सशक्त स्थिति दिलाए। वेस्ट इन्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २–२ विकेट लिए।

युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। नेपालले सिरिज जितिसके पनि अन्तिम खेल आज राति हुनेछ।

प्रतिक्रिया दिनुहोस्