नुवाकोट गुर्जेमा प्रहरीद्वारा छड्के चेकिङ, बढी भाडा असुल गर्ने सवारी साधन कारबाहीमा
नुवाकोट, असोज १४;। नुवाकोट शिवपुरी–६ गुर्जे अस्थायी प्रहरी पोस्टले यात्रुहरूबाट व्यापक गुनासो आएपछि सोमबार आकस्मिक रूपमा छड्के चेकिङ सञ्चालन गरेको छ।
स्थानीय युवाले काठमाडौंको माछापोखरीस्थित इभी काउण्टरमा स्थलगत जानकारी लिदै यात्रुहरूको भाडादर सम्बन्धी गुनासो बढेपछि प्रहरी पोस्टका प्रमुख बिरेन्द्रकुमार यादव र गुर्जे ट्राफिक प्रहरी चन्द्रबहादुर तामाङको टोलीले यात्रु सवार सवारीसाधनमा आकस्मिक जाँच गरेको हो।
चेकिङका क्रममा नियम विपरीत बढी भाडा असुल गर्ने ५ वटा इभी र बसलाई कारबाही गरिएको छ। यस्तै, कतिपय चालकलाई सम्झाइ–बुझाइ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रुहरूको गुनासोपछि मात्र चेकिङ तीव्र पारिएको हो।
यसैबीच, फूलपातीको दिन गुर्जे नाकाबाट काठमाडौं छाड्नेको चाप उल्लेख्य देखिएको छ। गुर्जे प्रहरी पोस्टका अनुसार सोमबार मात्रै काठमाडौंबाट यस नाका हुँदै नुवाकोट, रसुवा र धादिङतर्फ करिब २७ हजार यात्रु निस्किएका छन्। सोही अवधिमा करिब ३,१८५ सवारीसाधन गुर्जे नाकाबाट बाहिरिएका छन्।
गुर्जे प्रहरी पोस्टले यात्रुहरूको सुरक्षा र भाडादरमा पारदर्शिता कायम गर्न यस्ता चेकिङलाई निरन्तरता दिने जनाएको छ।

