महाअष्टमीमा महागौरी देवीको आराधना, पञ्चबलि दिने परम्परा कायम



काठमाडौं, असोज १४ । बडादशैं तथा नवरात्रको आठौँ दिन आज देशभर दशैंघर र पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना हुँदैछ।

यस दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरूमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। भक्तजनहरूले आफ्ना कुलदेवी र स्थानीय देवता–देवतालाई पूजी बलि चढाउँछन्। सात्विक अनुयायीहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला लगायतका फल अर्पण गर्ने चलन रहेको छ।

हनुमानढोकाको मूलचोकस्थित दशैंघरमा आजका दिन तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोका बलि दिने परम्परा रहिआएको छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानिने भएकाले गुप्तपूजा गर्ने परम्परासमेत छ।

महाअष्टमीमा विशेषगरी पञ्चबलि दिने चलन छ, जसमा बोका, राँगा, परेवा, हाँस र भेँडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच जीव प्रतीकात्मक रूपमा अंहकार, मोह, मद, लोभ र अन्य विकृत प्रवृत्तिलाई दान गरेर आत्मशुद्धि गर्ने विश्वास रहिआएको छ।

शास्त्रअनुसार महागौरी देवीलाई गोरो वर्णकी, श्वेत वस्त्र धारण गरेकी र सेतो वृषभमाथि सवार स्वरूपमा वर्णन गरिएको छ। नवरात्रको पहिलो दिन असोज ६ गते घटस्थापना गरिएको स्थानमा देवी शैलपुत्रीको पूजाआराधनासहित नवरात्र थालिएको थियो।

नवरात्रभर दुर्गा देवीको आराधना गर्नेहरूले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ। नवरात्रमा चढाइने प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा कायम छ।

प्रतिक्रिया दिनुहोस्