असोज १७ देखि २१ सम्म भीषण वर्षाको सम्भावना, मौसमविद् पोखरेलको चेतावनी



काठमाडौं, असोज १४ । मौसमविद्हरूले आगामी असोज १७ देखि २१ गतेसम्म देशभर भारी वर्षा हुने उच्च सम्भावना रहेको चेतावनी दिएका छन्। त्रिभुवन विश्वविद्यालयमा जल तथा मौसम विज्ञानका सह–प्राध्यापक डा. विनोद पोखरेलले यस अवधिमा ‘पोहोर सालको असोज’ जस्तै भीषण वर्षा हुन सक्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “फोरकास्ट नमिलोस् भनेर कामना गरौँ, तर पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ।” उनका अनुसार तीनवटा मोडेलले असोज १७ देखि २१ सम्म लगातार ३–४ दिन भारी वर्षा हुने देखाएको छ।

पोखरेलले विशेषगरी किसानलाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “भारी वर्षा लगभग ३–४ दिनसम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला।” उनका अनुसार भोलिदेखि वर्षा हल्का हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुनेछ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर लगातार भारी वर्षा भएको थियो। यसपालि पनि असोज १७ देखि २१ सम्मको अवधिमा त्यस्तै अवस्था दोहोरिन सक्ने अनुमान गरिएको छ।

भारतले समेत असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको अलर्ट जारी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्