नुवाकोटमा भेटिएको शव पहिचानको लागि प्रहरीको अनुरोध, हातमा छ पुतलीको ट्याटु



नुवाकोट, असोज १४ । नुवाकोटको लिखु गाउँपालिका–२ महादेव खोलामा सडिगलेको अवस्थामा एक वेवारिसे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मंगलबार दिउँसो करिब २ बजे फेला परेको उक्त लाशको नाम, थर, वतन, उमेर र लिङ्गसमेत हालसम्म पहिचान हुन सकेको छैन। घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएर मुचुल्का तथा प्रारम्भिक अनुसन्धान पूरा गरेको र मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिशुली जिल्ला अस्पतालको शवगृहमा राखिएको जनाएको छ।

प्रहरीले मृतकको सनाखतका लागि सार्वजनिक अनुरोध गर्दै मृतकको हुलिया समेत सार्वजनिक गरेको छ। उनका अनुसार मृतकले रातो रंगको टिसर्ट लगाएको, उचाइ करिब ५ फिट ७ इन्च रहेको, बायाँ हातको हत्केलामा पुतली जस्तो देखिने ट्याटु र नाडीमा पनि ट्याटु रहेको बताइएको छ। तर, शरीरको अनुहारलगायत भाग सडिगलेको अवस्थामा छ।

प्रहरीले कोही कसैले मृतकलाई चिनेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्न वा मोबाइल नम्बर ९८५१२५३७२४, ९८५१२८५१९९, ९८५१२८२८११ मा जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्