नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विशेष पूजा आराधना हुँदै



काठमाडौँ, असोज १५ । आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन आज देशभर नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विशेष विधिपूर्वक पूजाआराधना गरिँदैछ।

वैदिक सनातनी परम्परा अनुसार सिद्धिदात्री देवी मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले यिनलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनी ‘सिद्धिदायिनी’ नामले पनि परिचित छन्। धार्मिक विश्वासअनुसार देवीको पूजा आराधना गरे मनोकामना पूरा हुने र विभिन्न कष्ट तथा संकटबाट मुक्ति मिल्ने विश्वास छ।

यस वर्ष असोज ६ गते घटस्थापनासँगै नवरात्र सुरु भई क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजाआराधना सम्पन्न भइसकेको छ। आज अन्तिम दिन नवौँ देवी सिद्धिदात्रीलाई विशेष पूजा अर्चना गरिँदैछ।

नवरात्रका नौ दिनसम्म दशैंघर वा पूजास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठसमेत गर्ने परम्परा छ। पूजाआराधना गरी प्राप्त भएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने धार्मिक मान्यता छ।

यस वर्षको विजयादशमी असोज १६ गते बिहीबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने साइत बिहान ११ः५३ मा उत्तम रहेको छ।

महानवमीका अवसरमा आज शक्तिपीठसहित घरघरमा पनि बलिसहित विशेष पूजाआराधना भइरहेको छ। काठमाडौँ उपत्यकाका साथै देशभरका शक्तिपीठमा भक्तजनको ठूलो भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्