फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु
मनिला, असोज १५ । फिलिपिन्सको केन्द्रीय क्षेत्रमा बुधबार राति गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २६ जनाको ज्यान गएको छ।
फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार भूकम्प राति करिब १० बजे गएको हो। यसको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्वतर्फ र ५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पका कारण स्थानीय संरचनाहरूमा ठूलो क्षति पुगेको छ। विद्युत आपूर्ति बन्द भएको र धेरै भवनहरूमा क्षति पुगेको स्थानीय मिडियाले जनाएका छन्। सेबु प्रान्तीय सरकारले बान्टायन क्षेत्रमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा समेत क्षति पुगेको जनाएको छ।
सान रेमिजियो नगरपालिकाले विपत्तिको अवस्था घोषणा गरेको छ। घाइतेहरूको उपचार अस्पताल भवन बाहिरै गरिनु परेको बताइएको छ।
सेबुकी गभर्नर पामेला बारिकुआत्रोले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने जनाउँदै बोगो र प्रान्तको उत्तरी क्षेत्रमा अवस्था गम्भीर हुनसक्ने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिन्, “यो हामीले सोचेभन्दा खराब हुन सक्छ।”
अहिले उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

