सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु
सर्लाही, असोज १५ । सर्लाहीको हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोलामा बुधबार बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घटनामा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुनको ज्यान गएको हो।
खोला किनारमा खुर्पी प्रयोग गरेर माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीको भनाइ छ। घटनास्थलमै अचेत भएका चारै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलमा रहेका स्थानीय धर्मेन्द्र पासवानका अनुसार पूजापाठका लागि छ जना एकैसाथ माटो लिन गएका थिए। तीमध्ये दुई जना भाग्न सफल भएका थिए भने बाँकी चार जनाको घटनास्थलमै ज्यान गएको हो।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

