वीरगञ्जमा ग्याङ फाइट, एक युवकको मृत्यु
वीरगञ्ज, असोज १५ । वीरगञ्जस्थित दसैँ मेला क्षेत्रमा मंगलबार राति भएको ग्याङ फाइटमा परेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार माईस्थानदेखि गीता मन्दिर रोडमा मध्यरात करिब १२ बजे दुई समूहबीच झडप हुँदा घाइते भएका २२ वर्षीय शिवम् साहस कानु (गोल्डेन खान)को नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरी घर भई हाल वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएका र पेशाले ई–रिक्सा चालक रहेका साहसको मृत्यु भएपछि घटनापछि तनाव भएको थियो।
प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार घटनामा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरिएको छ भने हत्यामा संलग्न दुई जनाको पहिचान भइसकेको छ। पोस्टमार्टम रिपोर्ट नआएकाले मृत्युको ठ्याक्कै कारण र संलग्न व्यक्तिहरूको नाम सार्वजनिक नगरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

