डेङ्गी सङ्क्रमण कायमै, काठमाडौँ महानगरपालिकाले सतर्क रहन आग्रह



काठमाडौँ, असोज १५ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण अझै कायमै रहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ।

महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालका अनुसार लामखुट्टे तथा लार्भा नष्ट गर्ने अभियान नगरका सबै वडा र समुदायस्तरमा सञ्चालन भइरहेको छ। सो अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र स्थानीयवासीको सक्रिय सहभागिता रहेको जनाइएको छ।

कामनपाले गत वर्षका तथ्याङ्कअनुसार भदौ, असोज र कात्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी हुने देखिएको भन्दै मृत्यु दर घटाउन अधिकतम प्रयास भइरहेको स्पष्ट पारेको छ। काठमाडौँमा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एक महिलामा डेङ्गी देखिएको थियो।

कामनपाको तथ्याङ्कअनुसार सन् २०२२ मा २,९७३ जना, सन् २०२३ मा ६४३ जना, सन् २०२४ मा २,०८४ जना र यस वर्ष पुसदेखि हालसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

एडिस जातका लामखुट्टे सफा जमेको पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने खाल्डाखुल्डी, करेसाबारीका गमला, भाँडा, टायर र कौसीलगायत स्थान सफा राख्न आग्रह गरिएको छ।

त्यसैगरी, स्वास्थ्यसम्बन्धी गुनासा वा जिज्ञासा भएमा प्रारम्भिक परामर्शका लागि महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्