दशैं र पिङ : नुवाकोटमा हराउँदै गएको संस्कृतिको जगेर्ना



नुवाकोट,असोज १६ । दशैं र पिङ नेपाली समाजमा पर्यायझैं गासिएका छन्। विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुँदैन भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोडेर पिङ खेल्ने परम्परा परापूर्वकालदेखि चलिआएको हो।

देशका विभिन्न भूभागमा विभिन्न प्रकारका पिङ हाल्ने परम्परा रहँदै आएको छ। कतै बाँसको लिंगो ठड्याएर लिंगे पिङ हालिन्छ भने कतै पिपल वा वरको ठूलो रुखको हाँगामा डोरी भुण्ड्याएर पिङ खेलाइन्छ। पहाडी क्षेत्रमा भने रोटे अर्थात् चर्खे पिङको विशेष प्रचलन छ। तर, आधुनिकताको प्रभावसँगै पिङ संस्कृति मात्र होइन, रोटे पिङजस्तो मौलिक परम्परा पनि हराउँदै गएको छ।

छहरे–टोखा सडकखण्डसँग जोडिएको शिवपुरी गाउँपालिका–८ मा अझै पनि रोटे पिङ देख्न पाइन्छ। तर यस्ता दृश्य पहिलेभन्दा दुर्लभ बन्दै गएका छन्। नुवाकोटमा हराउँदै गएको रोटे पिङलाई जोगाउन गत वर्षदेखि पञ्चकन्या गाउँपालिकाले नै बजेट व्यवस्थापन गरेर रोटे र डोरी पिङ प्रवर्द्धनका लागि अभियान सुरु गरेको थियोे ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ भन्छन्, “हराउँदै गएको पिङ परम्परा जोगाउनु अब अपरिहार्य भएको छ।” वडास्तरमै पनि पिङ हाल्न थालिएको छ।

दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने र मिठा परिकार खाने परम्परालाई युवाहरूले आत्मसात गरेका छन्। गाउँ फर्किने युवाहरूले आफ्नै पहलमा पिङ हाल्दै आएका छन्। “पहिला–पहिला त लिंगे पिङ, रोटे पिङ र फन्फनी घुम्ने चाकाचुली पिङ पनि हालिन्थ्यो,” थान्सिङका स्थानीय सुमेश घिमिरे भन्छन्, “अहिले पनि लिंगे पिङ त हालिन्छ, तर रोटे पिङ निकै मेहनतले हालिन्छ। अब कतिन्जेल टिक्ला भन्ने चिन्ता छ।”

कामका लागि गाउँ छाडेर गएकाहरू दशैंका अवसरमा फर्किएपछि पिङ संस्कृतिको पुनर्जीवन हुने गरेको छ। तर आधुनिकताको प्रभावसँगै दशैंका यस्ता मौलिक अभ्यास भने क्रमशः हराउँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्