मनसुनी वर्षाको प्रभाव बढ्दै, असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन विभागको अनुरोध
काठमाडौं,असोज १६ । मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा सामान्यतया बदली रही तराईका केही भागमा आंशिक बदली भएको छ।
समितिका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सरेपछि नेपालमा वर्षा हुने पूर्वानुमान गरिएको छ। यस वर्षाले काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवनमा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने देखिएको छ।
त्यस्तै, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र रौतहट जोखिममा पर्ने विभागले जनाएको छ। यी क्षेत्रमा नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता आवश्यक भएको हो।
हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नसक्ने देखिएको छ। यसले बाढी, डुबान, पहिरो, भूक्षयसँगै सडक तथा हवाई यातायात समेत प्रभावित गर्न सक्ने विभागको भनाइ छ।
विभागले सम्भावित क्षति न्यूनीकरणका लागि अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

