नुवाकोटसहित १७ जिल्लामा बाढीको मध्यम जोखिम



काठमाडौं,असोज १६ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका १७ जिल्लामा बाढीको मध्यम जोखिम देखिएको जनाएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहितका ठूला नदी र तिनका सहायक नदीहरूको बहाव उल्लेख्य मात्रामा बढ्ने सम्भावना छ। त्यस्तै कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीमा पनि पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।

बाढीको जोखिम मुख्यतया दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ। यी जिल्लाबाट बग्ने ससाना नदीहरूको बहाव समेत उल्लेख्य बढ्ने भएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्