मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल पराजित
काठमाडौं,असोज १६ । मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ।
मलेसियाले जितका लागि दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो तर टोलीले ३ रन मात्र जोड्न सक्दा घरेलु टोली मलेसियाले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको हो।
नेपालका लागि पूजा महतोले ३० रन, सम्झना खड्काले १८ रन जोडिन् भने कविता जोशी १३ रनमा नटआउट रहिन्। यद्यपि उनीहरू टोलीलाई जित दिलाउन सफल भएनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। कप्तान विनिफ्रेड दुरासिङ्घमले २७, आइना हामिजाह हासिमले २६ र मस एलिसाले २५ रनको योगदान गरे। नेपालको बलिङतर्फ सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले १ विकेट लिइन्।
नेपाल र मलेसियाबीचको पाँच खेलको सिरिजअन्तर्गत दोस्रो खेल शनिबार, तेस्रो खेल आइतबार, चौथो खेल मंगलबार र अन्तिम खेल बुधबार हुनेछ। नेपाली महिला टोलीले तीन महिनापछि घरेलु मैदानमा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप यो सिरिज खेलिरहेको हो।

