हाइटीमा सशस्त्र हिंसाबाट १६ हजारभन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको चेतावनी



जेनेभा,असोज १७ । सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्र सङ्घले अझ गम्भीर संकट आउन सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रका मानव अधिकार प्रमुख भोल्कर टर्कले हाइटीमा मानव अधिकारको अवस्था विकराल बन्दै गएको जनाउँदै हिंसा, दुर्व्यवहार र अपराध तीव्र गतिमा बढिरहेको बताए। उनका अनुसार राजनीतिक अस्थिरता र गरिबीले ग्रस्त हाइटी लामो समयदेखि हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता आपराधिक गिरोहहरूको गतिविधिबाट पीडित हुँदै आएको छ।

सन् २०२२ जनवरी १ देखि अहिलेसम्म हिंसात्मक घटनामा १६ हजारभन्दा बढीको मृत्यु र करिब ७ हजार घाइते भएको तथ्य सार्वजनिक गर्दै टर्कले गिरोहजन्य हिंसाले राजधानी पोर्ट–अ–प्रिन्स मात्र नभई बाहिरी क्षेत्रमा समेत अस्थिरता फैलाउने खतरा रहेको बताए।

यसैबीच, न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदले हाइटीमा सुरक्षा बल तैनाथ गर्ने प्रस्ताव पारित गरेको छ। नयाँ फोर्समा अधिकतम ५ हजार ५०० वर्दीधारी कर्मचारी (प्रहरी अधिकारी र सैनिक) सम्म हुने जनाइएको छ।

टर्कले अन्तर्राष्ट्रिय सहयोग र प्रतिबद्धता अपरिहार्य भएको बताए। उनले गत मार्चदेखि हाइटी सरकारले राजधानीमा गिरोह विरोधी कारबाहीमा ड्रोन प्रयोग बढाएको जानकारी दिँदै सेप्टेम्बरसम्ममा ११ बालबालिका सहित कम्तीमा ५५९ जनाको ड्रोन आक्रमणमा मृत्यु भएको तथ्य प्रस्तुत गरे। यी आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने उनले चेतावनी दिए।

उनका अनुसार यसै वर्ष तथाकथित समूहहरूले ५०० भन्दा बढी कथित गिरोह सदस्यहरूको हत्या गरेका छन्, जुन ‘गहिरो चिन्ताको विषय’ हो। बालबालिकाहरूलाई तस्करी, शोषण र जबरजस्ती भर्ती गर्ने गिरोह गतिविधि अझ खतरनाक बन्दै गएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई हाइटीको अवस्थालाई सुधार्न सहयोग गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्