जेन–जी आन्दोलनका कारण सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा झण्डै १० करोडको क्षति



धनगढी,असोज १७ । भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनीबाट झण्डै १० करोड बराबरको क्षति भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीका अनुसार तोडफोड र आगजनीका कारण करिब ९ करोड ७४ लाख ५१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

आगो र तोडफोडका कारण मुख्यमन्त्री कार्यालय परिसरमा रहेका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ वटा सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लेखासम्बन्धी कागजात मात्र जोगिएको जानकारी दिइएको छ।

भवनभित्र रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, सोफा, दराज, कार्पेट, मार्बललगायत सम्पूर्ण सामग्री नष्ट भएका छन्। केही सामान चोरीसमेत भएको बताइएको छ। क्षतिको विवरणमा कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत हराएको उल्लेख छ।

त्यसैगरी आन्दोलनका क्रममा धनगढीस्थित अधिकांश सरकारी कार्यालयमा समेत आगजनी गरिएको थियो। प्रदेश सभा भवनमा भएको तोडफोड र आगजनीले बैठक कक्ष खण्डहर बनेको छ। त्यहाँ रहेका टेबल, कुर्सी, ल्यापटप, कम्प्युटर, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन, प्रिन्टर र एसीलगायतका उपकरण जलेर नष्ट भएका छन्।

प्रतिक्रिया दिनुहोस्