पाँच प्रदेशमा चार दिनसम्म यात्रा नगर्न प्राधिकरणको अनुरोध
काठमाडौं,असोज १७ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्ने चेतावनी दिएको छ। बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहटसहितका जिल्लामा आकस्मिक बहावको उच्च सम्भावना देखिएको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले अत्यन्त जरुरी नभए घरदेखि टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न, विपद् व्यवस्थापन समितिका निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णयलाई पालना गर्न, पहिरो तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै डुबानको जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिन र अरुलाई पनि जानकारी दिन आग्रह गरिएको छ।
तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

