नुवाकोट कारागारका कैदीबन्दीले सामूहिक टीकासहित दशैं मनाए
नुवाकोट,असोज १७ । जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा टीका लगाएर वडादशैं पर्व मनाएका छन्।
कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका तथा मुद्दा फैसला नहुनुन्जेलसम्म बन्दी जीवन बिताइरहेकाहरूले दशैंलाई रमाइलो माहोलमा मनाएका हुन्।
जेलर भेषबहादुर कुँवरका अनुसार कारागारमा रहेका ३९ महिलासहित ९०३ जना कैदीबन्दीहरूले दशैंको अवसरमा आपसमा टीका लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए।
त्यस अवसरमा कैदीबन्दीहरूले आफैंले खरिद गरेका तीनवटा राँगो, खसीबोका र कुखुराको मासु पकाई सामूहिक भोजभतेरसमेत गरेका थिए। दशैंको दिन बन्दीका आफन्तहरू कारागारमै आएर टीका तथा जमरा लगाइदिएको कारागार प्रशासनले जनाएको छ।

