जिल्ला प्रशासन काठमाडौंको आग्रह : असोज २० सम्म रातको समयमा यात्रा नगर्नुहोस्



काठमाडौं,असोज १७। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा रातको समयमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी गरिएको एक जरुरी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म काठमाडौं उपत्यकामा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण जोखिमयुक्त स्थानमा बाढी, पहिरो र भूक्षयजस्ता विपद्जन्य घटनाहरू घट्न सक्ने भएकाले विशेषगरी रातको समयमा अनावश्यक यात्रा नगर्न प्रशासनले चेतावनी दिएको हो।

त्यसैगरी विपद्‌का बेला उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौंका सम्पर्क नम्बरमा सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ।

प्रशासनले असोज २० गतेसम्म आ–आफ्नो स्थानमै रही आवश्यक सतर्कता र सावधानी अपनाउन सबैलाई अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्