महोत्तरी बस दुर्घटना : ६ गम्भीर घाइतेलाई सैनिक हेलिकोप्टरमार्फत काठमाडौं लगियो
महोत्तरी,असोज १७। महोत्तरीको खयरमारामा शुक्रबार बिहान भएको बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई सैनिक हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
सुरक्षा निकायले घाइतेहरूको उद्धार गरी सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमार्फत सेनाको हेलिकोप्टरमा काठमाडौं पठाएको हो। उनीहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ।
घाइते उद्धारका क्रममा सशस्त्र प्रहरीले मास क्याजुअल्टी भेहिकल प्रयोग गरेको थियो। यस्तो एम्बुलेन्समा एकैपटक धेरै घाइतेलाई राखी उपचारस्थलसम्म लैजाने सुविधा हुन्छ। दुर्घटनास्थलदेखि बाहिनीसम्म र विमानस्थलदेखि अस्पतालसम्म घाइतेलाई सोही किसिमको एम्बुलेन्समार्फत सारिएको हो।
उद्धार गरी काठमाडौं लगिएका घाइतेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–१० की ४४ वर्षीया निर्मला तामाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोले, २० वर्षीया सुनीता विक, २३ वर्षीया बिना कुमारी बिसुंखे र सर्लाही ईश्वरपुर नगरपालिका–१२ का १३ वर्षीय प्रभाकर खड्का रहेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकाल आफैं घटनास्थल पुगेर उद्धारमा संलग्न भएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको ९ नम्बर गण र ३८९ नम्बर रिजर्भ गणका प्रहरी पनि उद्धारमा खटिएका थिए।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ घारीबथानबाट यात्रु लिएर बर्दिबास हुँदै काठमाडौं जाँदै गरेको ना ६ ख १४६४ नम्बरको बस शुक्रबार बिहान करिब ७:१५ बजे दुर्घटनाग्रस्त भएको हो। तिव्र गति कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा बसका १२ वर्षीय यात्रु प्रमिश खड्का र पैदलयात्रु चोलाही चौधरीको ज्यान गएको छ।

