नुवाकोट प्रशासनद्वारा भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह
नुवाकोट, असोज १७ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अबिरल वर्षा हुने भएकाले बाढी, पहिरो र भूक्षयजस्ता विपद्को जोखिम बढ्ने अनुमान गरिएको छ। यस कारण नुवाकोट जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
जारी सूचनामा उल्लेख भएअनुसार असोज १७ देखि २० गतेसम्म अत्यावश्यकबाहेकका यात्रामा ननिस्कन सुझाव दिइएको छ। साँझ ६ बजेदेखि बिहान ५ बजेसम्मको समयमा यात्रा नगर्न, बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थान रोज्न र पुल, खोलानाला तथा तटीय क्षेत्रमा अनावश्यक ओहोरदोहोर नगर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासनले सम्भावित विपद्को समयमा सुरक्षासम्बन्धी निकाय, स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित संघ–संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जनप्रतिनिधि र स्वयंसेवी संस्थाहरूसमेत विपद् उद्धारका लागि सतर्क रहन आह्वान गरिएको छ।
जिल्ला प्रशासनले नागरिकलाई सावधानी अपनाउन अनुरोध गर्दै विपद्को समयमा तत्काल सहयोग वा उद्धार आवश्यक परेमा ९८५१२८२८३० र ९८५१२४८७७७ मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ।


