नेपालमा मनसुन बाहिरिन ढिला, अझै केही दिन भारी वर्षाको सम्भावना



काठमाडौँ, असोज १७। नेपालमा यस वर्ष मनसुन केही समय ढिलो बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् बिहीबार भए पनि यसपटक मनसुन अझै सक्रिय रहँदै केही दिन ढिला बाहिरिने अनुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष १५ दिन अगावै, जेठ १५ गते नै नेपाल प्रवेश गरेको थियो। मनसुन असार ६ गते देशभर फैलिएको थियो। अर्यालले भने, “मनसुन उत्तरार्धमा पुगेको बेला पुनः सक्रिय भएकाले बाहिरिनमा ढिलाइ हुने देखिएको छ।”

उनका अनुसार मनसुनी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट बनेको न्यून चापीय प्रणालीको कारण आज अपराह्नदेखि केही दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। उनले शनिबार र आइतबार वर्षा बढी हुने र सोमबारदेखि क्रमशः सुधार आउने जानकारी दिए।

“सोमबारपछि पश्चिमी वायुको प्रभाव कस्तो हुन्छ भन्ने कुराले मनसुन बाहिरिने समय निर्धारण गर्नेछ,” वरिष्ठ मौसमविद् अर्यालले भने।

यस वर्ष मनसुन जेठ १५ गते पूर्वी नेपाल प्रवेश गरी प्रारम्भमा कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको थियो। त्यसपछि जेठ २९ सम्म मधेस, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भूभागमा फैलिएको थियो। असार ६ गतेबाट भने मनसुन देशव्यापी रूपमा फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस्