जेन–जी मुभमेन्ट अलायन्सको असोज २३ को प्रदर्शनसँग असम्बन्ध
काठमाडौँ, असोज १७ । जेन–जी मुभमेन्ट अलायन्सले आगामी अक्टोबर ९ (असोज २३) मा हुने भनिएको विरोध प्रदर्शनसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
जेन–जी मुभमेन्ट भदौ २३ गते भएको आन्दोलनका आह्वानकर्तामध्ये एक हो। तर पछिल्लो समय केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत असोज २३ गते दोस्रो चरणको आन्दोलन गर्ने भन्दै प्रचार गर्दै आएका थिए। सोबारेमा अलायन्सले एक वक्तव्य जारी गर्दै आफू त्यसमा संलग्न नरहेको स्पष्ट पारेको हो।
वक्तव्यमा भनिएको छ, “हिंसा, अराजकता र गैर–लोकतान्त्रिक गतिविधिसँग जोडेर संस्थालाई बदनाम गर्ने प्रयास अस्वीकार्य छ।” साथै अलायन्सले आफ्ना समर्थक, शुभचिन्तक तथा सम्पूर्ण नेपाली नागरिकलाई कुनै पनि भड्काउने वा तोडफोड गर्ने गतिविधिमा सहभागी नहुन आह्वान गरेको छ।
अलायन्सले हिंसा, डर, त्रास र अराजकताले कहिल्यै पनि समस्याको समाधान नदिने भन्दै नागरिकबीच अविश्वास फैलाउने र समाजमा भयको वातावरण सिर्जना गर्ने कार्यको निन्दा गरेको छ।

