जनकपुरधाममा दुर्गा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त



जनकपुरधाम, असोज १७ । जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ।

दुर्गा पूजा समापनपछि मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई पक्षबीच वादविवाद चर्किँदै झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए। झडपको क्रममा एक टहरामा आगजनी समेत भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार विगत केही वर्षदेखि मुस्लिम समुदायले हिन्दु समुदायको चाडपर्वमा अवरोध पुर्‍याउने प्रयास गर्ने गरेको आरोप छ। केही दिनअघि गणेश मूर्ति विसर्जनको क्रममा पनि पत्थरबाजी भएपछि विवाद भएको थियो। आज पनि दुर्गा मूर्ति विसर्जनका क्रममा मुस्लिम पक्षले छतबाट बोतल, सिसा र ढुंगा प्रहार गरेपछि झडप सुरु भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले उल्लेख्य संख्यामा बल परिचालन गरेको छ। त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्ने क्रममा झडप चर्किएपछि प्रहरीलाई केही राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो। सो पोखरी छेउमा मुस्लिम समुदायले निर्माण गरेको टहरामा आगजनी समेत भएको प्रहरीले पुष्टि गरेको छ।

हाल अवस्था अझै तनावग्रस्त रहेको र प्रहरीले शान्ति कायम गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्