भारी वर्षा जारी : तीन दिन लामो दूरीका यातायात बन्द



काठमाडौं, असोज १८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। शनिबारदेखि लगातार तीन दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको हो।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधन असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ।”

यस निर्णयको कार्यान्वयन र अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्