मध्यरातको रहस्य : दशैंको रात सिमरामा फेला परेकी एक अबोध बालिका
बारा,असोज १८ । दशैंको टीकाको दिन राति करिब ११ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ मगर टोलमा एक अबोध बालिका बेवारिस अवस्थामा फेला परेकी छिन्। करिब एक वर्षकी देखिने ती बालिकालाई स्थानीयले उद्धार गरी प्रहरीको समन्वयमा वडासदस्य सीता उप्रेतीको घरमा सुरक्षित राखिएको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले राति बस्तीको बीचमा पुरानो लुगासहितको झोलामा बालिकालाई राखिएको अवस्थामा भेटेका थिए। घटनापछि तत्काल उद्धार भए पनि ती बालिकालाई कसले र किन त्यस्तो अवस्थामा छोड्यो भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ। बालिका भेटिएको करिब १५ घण्टा बितिसक्दा पनि परिवार वा आफन्त सम्पर्कमा नआएपछि घटनाबारे थप शंका उत्पन्न भएको छ। कतिपयले नियतवश त्यहाँ छोडिएको हुनसक्ने अनुमान गरेका छन्।
मानव अधिकार एलायन्स बाराकी अध्यक्ष रिना बजगाईंले घटनालाई गम्भीर अपराधको रूपमा लिँदै दोषी जो भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। उनका अनुसार, “अबोध बालिकालाई जसले छोडेको भए पनि यो अपराध हो। अभिभावक नै भए पनि उसलाई कानुनी कारबाही हुनुपर्छ।”
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीका अनुसार बालिकाको उद्धारपछि अनुसन्धान सुरु भइसकेको छ। “रातिदेखि नै हामीले बालिकालाई कसले त्यहाँ छोड्यो भन्नेबारे खोजी गरिरहेका छौं,” उनले भने, “बारा र पर्सा जिल्लामा बालबालिका हराएको उजुरी दर्ता भएको छ वा छैन भन्ने पनि जाँच भइरहेको छ।”
घटनास्थल वरपर सीसीटीभी क्यामरा नभएकाले प्रहरीले वरपरका बाटोमा रहेका क्यामराको फुटेज संकलन गरिरहेको छ। हाल बालिका प्रहरीको समन्वयमा जनप्रतिनिधिको संरक्षणमा छिन्। अझैसम्म आफन्त भएको दाबी गर्ने कोही नआएकाले उनको परिचय खुल्न सकेको छैन।
प्रहरी र सरोकारवालाहरूले बालिकाको फोटो र विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै परिवारजन वा आफन्त पहिचानमा सहयोग गर्न आग्रह गरेका छन्।

