भारी वर्षाका कारण पासाङ ल्हामु यातायातले सवारी सञ्चालन स्थगित गर्यो
नुवाकोट,असोज १८ । भारी वर्षाको सम्भावना रहेको भन्दै नमस्ते पासाङ ल्हामु यातायात प्रा. लि. ले आफ्नो सेवामा अस्थायी रूपमा रोक लगाउने घोषणा गरेको छ। संस्थाका अध्यक्ष रामहरि श्रेष्ठद्वारा जारी सूचनामा यही असोज १८ देखि २० गतेसम्म देशका अधिकांश स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमानका कारण सवारी सञ्चालन गर्न असहज परिस्थिति उत्पन्न भएको उल्लेख छ।
श्रेष्ठले जारी सूचना मार्फत संस्थाअन्तर्गतका सबै चालक र व्यवसायीलाई अर्को सूचना नआएसम्म सवारी साधन आफ्नै घर वा ग्यारेजमा राखी सुरक्षा सावधानी अपनाउन निर्देशन दिएका छन्।
यातायात सेवा स्थगित भएकाले यात्रुहरूलाई असुविधा हुन सक्ने भन्दै श्रेष्ठले क्षमायाचना समेत गरेका छन्। उनले भनेका छन्, “असहज मौसमका कारण सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले यात्रु वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं।”
पछिल्ला दिनमा निरन्तर वर्षा र आगामी तीन दिन अझै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको सूचनासँगै यातायातका विभिन्न संघ–संस्थाहरूले सावधानी अपनाउने निर्णय गर्दै आएका छन्।
यसैबीच जिल्ला प्रशासन कार्यालय नुवाकोटले गाडी संचालन मातहतका समितिलाई तत्काल स्थगित गर्न अनुरोध समेत गरिसकेको जनाएको छ।

