पाँचथरमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु र ६ घाइते
पाँचथर,असोज १८ । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी (ना १ ज ५८७३) आज बिहान तमोर करिडोरको सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो। गाडी सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये केहीलाई उपचारका लागि झापातर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको बताइएको छ।
घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार कार्य सम्पन्न गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार सडक चिप्लो र तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

