लगातारको वर्षाका कारण त्रिशूली–छहरे–टोखा सडकमा आवतजावत रोक
नुवाकोट, असोज १८ — नुवाकोटको त्रिशूली–छहरे–टोखा सडकखण्डमा जोखिम बढ्न सक्ने भन्दै आवतजावतमा अस्थायी रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो र भू–क्षयको सम्भावना उच्च भएकाले आज शनिबार दिउँसोदेखि आवागमन रोकिएको हो।
यो सडक नुवाकोट, रसुवा लगायतका जिल्लाबाट काठमाडौं आवतजावत गर्न प्रयोग हुने छोटो दूरीको वैकल्पिक मार्ग मानिन्छ। पृथ्वी राजमार्गको नागढुंगा–गल्छी खण्डमा भीड हुने भएकाले यो सडकलाई वैकल्पिक विकल्पको रूपमा प्रयोग गरिँदै आएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुँमागाईंले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार सडक बन्द गरिएको जानकारी दिनुभयो। “वर्षाको जोखिमलाई ध्यानमा राख्दै अहिलेका लागि आवतजावत रोकिने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो।
सरकारले पनि देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। साथै आइतबार र सोमबार (असोज १९ र २०) देशभर सार्वजनिक बिदा दिइएको छ।

