मन्त्री खरेलद्वारा तीन दिन उच्च सतर्कता अपनाउन निर्देशन
काठमाडौँ, असोज १८ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशभर वर्षाका कारण जोखिम बढेको भन्दै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन मन्त्रालय अन्तर्गतका निकाय र संस्थाका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयमा शनिबार बसेको छलफलमा मन्त्री खरेलले सम्भावित विपदका बेला सञ्चार सम्पर्क विच्छेद हुन नदिन र कुनै अवरोध भए तत्काल मर्मतसंभार गरी दूरसञ्चार सेवा निरन्तर सुचारु राख्न निर्देशन दिनुभयो। उहाँले विपदका समयमा सञ्चार माध्यमको भूमिका झन् महत्वपूर्ण हुने उल्लेख गर्दै जनतालाई सूचित गर्ने र सुरक्षा उपायहरू अपनाउन प्रेरित गर्ने सन्देशमूलक सामग्री प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो।
मन्त्रालयका सचिव राधिका अर्यालले दूरसञ्चार सेवा प्रभावकारी बनाउन र कुनै स्थानमा सेवा अवरुद्ध भए तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन आवश्यक तयारीमा रहन निर्देशन दिनुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले विपदका बेला नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुने बताउँदै नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत सन्देशमूलक सामग्री उत्पादन र प्रसारणमा जोड दिइएको जानकारी दिनुभयो।
छलफलमा सहभागी नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेलका प्रतिनिधिहरुले पनि दूरसञ्चार सेवा अवरुद्ध नहोस् भनेर सबै संयन्त्र तत्पर राख्ने प्रतिबद्धता जनाए।
यसैबीच, मन्त्रालयले देशका कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न सकिने नम्बरहरू पनि सार्वजनिक गरेको छ। दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणका ९८५१०८७४३२ र ९८४१३७६२०३, तथा मन्त्रालयका ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।

