उपत्यकाका नदीको जलसतह बढ्दै, बागमतीले खतराको तह पार गर्‍यो



काठमाडौँ, असोज १८— निरन्तरको वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदी–नालामा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको खोकना जलमापन केन्द्रका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार उपत्यका आसपासका नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको छ र आज राति अति भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ। “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल जलसतह चार दशमलव दुई मिटर पुगेको छ। यो क्रम अझै बढ्ने देखिएको छ, त्यसैले सतर्क रहनु जरुरी छ,” पराजुलीले बताउनुभयो।

विभागका अनुसार काभ्रेस्थित रोसी खोला, काठमाडौँको मनोहरा र बागमती नदी, साथै मकवानपुरको लालबकैया नदीले पनि सतर्कता तह पार गरिसकेका छन्।

बागमती र मधेस प्रदेश हुँदै बहने अधिकांश नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको बताउँदै विभागले तटीय क्षेत्र र निचो भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज साँझ र राति वर्षा अझै तीव्र हुने अनुमान गरिएकाले सम्भावित बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्