निरन्तर वर्षाले काठमाडौँ उपत्यकामा डुबान, बागमती–हनुमन्तेसहितका खोला उर्लिए
काठमाडौँ, असोज १९ — असोज १७ गतेको मध्यरातदेखि सुरु भएको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला — काठमाडौँ, भक्तपुर र ललितपुर — का विभिन्न क्षेत्र बाढी र डुबानमा परेका छन्। बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा, धोबीखोला, टुकुचा र गोदावरीसहितका सहायक खोलाहरू उर्लिँदा नदी किनारका बस्ती जलमग्न भएका हुन्।
अव्यवस्थित सहरीकरण र नदी–खोला अतिक्रमणका कारण बाढीको जोखिम बढेको जनाइएको छ। शनिबार साँझसम्म उपत्यकाका सबै मुख्य नदी–खोलामा पानीको सतह खतराको तहमा पुगेको थियो। सन् २०८१ असोज १० देखि १२ गतेसम्म पनि यस्तै किसिमको बाढी र डुबानको घटना भएको थियो।
बागमती किनारमा बनेका घर, टहरा, व्यावसायिक भवन, विद्यालय र अस्पतालहरू समेत डुबानमा परेका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार त्रिपुरेश्वरको शान्ति निकेतन माविदेखि बल्खु हुँदै चोभारसम्मका सम्पूर्ण बस्ती खाली गराइएको छ। सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिरहेका छन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार भक्तपुर नगरपालिका वडा नं. १, ४, ५, ७, ८ र मध्यपुरथिमिका राधेराधे, बालकोट, लोकन्थली क्षेत्रमा बाढीको जोखिम उच्च रहेको छ। स्थानीयहरूलाई सुरक्षित स्थानमा सारिएको र केही क्षेत्रमा पहिरोको जोखिम भएकाले उद्धार सामग्री तयारी अवस्थामा राखिएको बताइएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार बागमती र नख्खुखोला किनारका बस्तीमा उच्च सतर्कता अपनाइएको छ। रबर बोटसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
मन्त्री घिसिङको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार चोभार गल्छीलगायत उच्च जोखिमयुक्त नदी क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँसँग सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सहसचिव नारायणप्रसाद मैनाली पनि साथमा थिए।
मन्त्री घिसिङले बाढीग्रस्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिँदै सबै निकायलाई उद्धार र राहतका कार्यमा सक्रिय रहन आग्रह गर्नुभएको छ।
अतिक्रमणले निम्त्यायो डुबान
सर्वोच्च अदालतले बागमती नदीको बहाव क्षेत्र ४० मिटर र सहायक नदीहरूको २० मिटर कायम गर्न आदेश दिएको भए पनि सो निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपत्यकाका खोला किनारमा बनेका संरचना अहिले डुबानमा परेका छन्।
बागमती उर्लिँदा शान्तिनगर, विजयनगर, गैह्रीगाउँ, बुद्धनगर, शङ्खमूल, थापाथली र बल्खुसम्म बाढी पसेको छ। विष्णुमती किनारका सुकुम्बासी बस्ती विस्थापित भएका छन् भने हनुमन्ते उर्लिँदा तुलसीलाल स्मृति प्रतिष्ठानको भवन समेत डुबानमा परेको छ।
प्रकृति संरक्षण अभियन्ता प्रकाशमणि शर्माले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने बताउँदै भने, “नदीखोलाको बहाव क्षेत्रमा अतिक्रमणले नै सहरमा बाढीको संकट निम्त्याएको हो। अब संरचना हटाएर नदीलाई आफ्नो बाटोमा बग्न दिनुपर्छ।”

