अविरल वर्षा देशभर फैलिँदै, विभागको उच्च सतर्कता अपनाउन अपिल



काठमाडौँ, असोज १९ — मुलुकका मधेश, बागमती र गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्म देशभर फैलिने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार दिनभर कायम रहँदा धेरै स्थानमा भारी वर्षा रेकर्ड गरिएको छ।

मौसम पूर्वानुमान महाशाखा र जलवायु विश्लेषण शाखाका अनुसार बङ्गालको खाडीमा उत्पन्न तीव्र मनसुनी न्यूनचापीय प्रणाली नेपालको मध्यभाग हुँदै फैलिँदा वर्षाको मात्रा तीव्र बनेको हो। विभागका महानिर्देशक कमलराम जोशीका अनुसार सो प्रणाली अझ सक्रिय हुँदै शनिबार रातिदेखि आइतबार बिहानसम्म अत्यधिक वर्षा गराउनेछ।

उहाँले भन्नुभयो, “विशेष गरी शनिबार राति १० बजेदेखि बिहान २ बजेसम्म अति भारी वर्षाको सम्भावना छ। त्यसैले सबैले सचेत भएर जिउधनको सुरक्षामा ध्यान दिनुपर्छ।”

बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भूभागमा थप वर्षा हुने उच्च सम्भावना रहेको विभागले जनाएको छ। नदी–खोला किनार, तटीय क्षेत्र र सहरी बस्तीका बासिन्दालाई डुबानको जोखिम रहेकाले पहिले नै सुरक्षित उपाय अपनाउन विभागले आग्रह गरेको छ।

विभागले असोज १५ गते जारी वक्तव्यमार्फत टीकाको भोलिपल्टदेखि मनसुन पुनः सक्रिय हुने चेतावनी दिएको थियो। हालको सक्रिय प्रणाली आइतबार दिउँसोपछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ।

विगत २४ घण्टामा मधेश प्रदेशका १२ स्थानमा भारीदेखि अति भारी वर्षा रेकर्ड भएको छ। रौतहटको महेशपुरमा सबैभन्दा बढी ३४८ मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटकै गौरमा ३२७, गरुडामा २७६, पर्साको वीरगन्जमा २८५, बाराको कलैयामा २५५, परवानीपुरमा २०६ र निजगढमा १९१ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार दिउँसोसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना कायमै छ। लगातारको वर्षाले जमिन कमजोर भएकाले सानो वर्षाले पनि पहिरो, भेलबाढी र नदीमा जलसतह बढ्न सक्ने भएकाले विशेष गरी रातमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्