इलाममा बाढी–पहिरोले ३७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
इलाम, असोज १९ — गए राति अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ। ताजा विवरण अनुसार ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जना, र फाकफोकथुम गाउँपालिकामा १ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको हो।
प्रजिअ नेपालका अनुसार सन्दकपुरमा २ जना, माइजोगमाईमा १ जना, र इलाम नगरपालिका–६ मा १ जना गरी ४ जना बेपत्ता छन्। मृतकमध्ये ११ जनाको पोष्टमार्टम सम्पन्न भइसकेको र अन्यको उद्धार र पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याइँदै गरिएको जानकारी दिइएको छ।
प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धार र राहत कार्यमा खटिएको छ। अविरल वर्षाका कारण अझै पनि धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने विद्युत् र सञ्चार सेवा प्रभावित बनेका छन्।
स्थानीय प्रशासनले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म मध्यमदेखि भारी वर्षा जारी रहने चेतावनी दिएको छ।


