काठमाडौंको नागढुंगाबाट रात्रिबस साँझ ५ बजेभित्र मात्र बाहिरिन पाउने



काठमाडौं, असोज १९ — लगातारको वर्षापछि सुधारिएको मौसमसँगै नागढुंगा नाकाबाट रात्रिकालीन बस सञ्चालन गर्न अनुमति दिइएको छ। तर, बसहरू साँझ ५ बजेभित्रै बाहिरिइसक्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले जानकारी दिँदै भनेको छ, “वर्षा रोकिएसँगै सडक अवस्था केही सामान्य भएपछि रात्रिकालीन बस सञ्चालन गर्न अनुमति दिइएको हो। तर यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसहरू साँझ ५ बजेभित्र नाकाबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।”

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो। तर साँगा हुँदै वीपी राजमार्गतर्फ जाने सवारी साधन अझै सञ्चालनमा आएका छैनन्।

सडकमा केही ठाउँमा पहिरोको जोखिम कायमै भएकाले यात्रु र चालकलाई सतर्क रहन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्