महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपाल १३ रनले पराजित



क्वालालम्पुर, असोज १९ — नेपाल महिला क्रिकेट टिम मलेसियासँग टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पराजित भएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपाल १३ रनले पराजित भएको हो।

यो जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ। पहिलो खेलमा मलेसियाले ३ रनले जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ६ विकेटको जित दर्ता गर्दै सिरिजलाई बराबरीमा ल्याएको थियो।

तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४ विकेट गुमाउँदै १ सय २० रनको योगफल बनायो। ओपनर आइन्ना हमिजाह हाशिम ले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रन जोडिन्। नेपालका लागि कविता कुँवर र कविता जोशी ले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन मात्र बनाउन सक्यो। नेपालकी ओपनर रुबी पोद्दार ले सर्वाधिक ३१ रन बनाइन् भने कप्तान इन्दु बर्मा ले २२, सम्झना खड्का ले १८ र कविता कुँवर ले १५ रन योगदान दिइन्।

मलेसियाका नुर दानिया र एलिसा फिरदौज ले समान १–१ विकेट लिँदै नेपालको जितको आशा समाप्त पारे । सिरिजको चौथो खेल सोमबार मलेसियाको क्वालालम्पुरमै खेलिने छ।

प्रतिक्रिया दिनुहोस्