कोजाग्रत पूर्णिमा आज : धनकी देवी लक्ष्मीको पूजा आराधना हुँदै



काठमाडौँ, असोज २० । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमाको रूपमा देशभर धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी मनाइँदैछ । सोमबार साँझ पूर्णचन्द्र उदाउने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोजाग्रत पूर्णिमा यही दिन मनाउन अनुरोध गरेको छ ।

समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार सोमबार बिहान ११ बजेर २५ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि पूर्णिमा तिथि रहनेछ । मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि रहने भए पनि धार्मिक दृष्टिले सोमबार नै उपयुक्त मानिएको छ ।

यस दिन रातभर जाग्राम बसी देवी लक्ष्मीको पूजा आराधना गर्ने चलन छ । धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर लक्ष्मीको आराधना गरे धन, समृद्धि र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने क्रम पनि आजका साथ औपचारिक रूपमा सम्पन्न हुँदैछ । दशैँका बेला पूजामा प्रयोग गरिएको जमरा र अन्य सामग्रीहरू आज बिहान विसर्जन गर्ने परम्परा पनि रहेको छ ।

पुराणहरूका अनुसार भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला प्रारम्भ गर्नुभएको थियो । यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने भएकाले विशेष पुण्यमय रात मानिन्छ ।

यस अवसरमा नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठमा पुगेर दर्शन गर्ने परम्परा पनि छ । कोजाग्रत पूर्णिमाको रातलाई धन, समृद्धि र उज्यालोको प्रतीकका रूपमा श्रद्धा, भक्ति र उल्लाससाथ मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्