नुवाकोटमा बसभित्रै एक युवक मृत भेटिए



तस्वीर: एआई जेनेरेट

नुवाकोट, असोज २० । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा बसभित्रै एक युवक मृत फेला परेका छन् ।

मृतक जिल्ला नुवाकोट विदुर नगरपालिका–९ लामाटार निवासी २५ वर्षीय अमृत विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार उनी प्रदेश ३–०१–००५ ख ९४६५ नम्बरको बसमा काठमाडौंबाट नुवाकोट किस्पाङतर्फ जाँदै गर्दा सोमबार दिउँसो १५:३५ बजे सिटमै अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल लगिएको भए पनि १६:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतकले लागुऔषध अत्यधिक मात्रामा सेवन गरेको आशंका गरिएको छ । अस्पतालको प्रारम्भिक रिपोर्टमा पनि सो देखिएको प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्