‘एरेस्ट केपी ओली’ अभियान सुरु, जेनजी अगुवाहरूले मागे दमनका जिम्मेवारमाथि कारबाही
काठमाडौँ, असोज २० । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान सुरु गरिएको छ। जेनजी आन्दोलनका अगुवाहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै उक्त अभियान चलाएका हुन्।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा राज्यको दमनबाट धेरै युवा घाइते र बेपत्ता भएको आरोप लगाउँदै उनीहरूले यो अभियान सुरु गरेका हुन्। ट्वीटर (X), फेसबुक र टिकटकलगायत सामाजिक सञ्जालमा एकैपटक अभियान अघि बढाइएको छ।
जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेख्दै दमनको जिम्मेवारी लिनुपर्ने माग गरेकी छन्। उनले लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ। मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजी आन्दोलनमा निहत्था विद्यार्थीमाथि गोली दाग्न आदेश दिने व्यक्ति आज पनि हाँस्य चुट्किला सुनाएर बसिरहेको छ। हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्।”
अभियानमा सहभागीहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, “न्यायबिना लोकतन्त्र अधुरो हुन्छ, त्यसैले गोली हान्ने आदेश दिनेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ।”
सामाजिक सञ्जालमा हाल #ArrestKPOli र #JusticeForGenZ ह्यासट्यागहरू ट्रेन्डिङमा छन्।

