दसैँअघि पूर्वसूचना र तयारीकै कारण ठूला क्षति टर्‍यो : मौसम विभाग



काठमाडौँ, असोज २१ । दसैँताका नेपालमा ठूला मौसमी प्रणाली भित्रिने संकेत पाएपछि जल तथा मौसम विज्ञान विभागले दसैँअघि नै विशेष मौसम बुलेटिनमार्फत लगातार पूर्वसूचना जारी गरेको थियो। त्यसकै आधारमा सरकारले पनि उच्च सतर्कता अपनाउँदै पूर्वतयारी गरेकाले सम्भावित जनधनको ठुलो क्षति टार्न सफल भएको विभागका महानिर्देशक कमलराम जोशीले बताएका छन्।

जोशीका अनुसार, विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसमी मोडलहरूको विश्लेषणमार्फत दसैँ सुरु हुनुभन्दा करिब एक साताअघि नै ठुलो प्रणाली नेपालमा प्रवेश गर्ने पूर्वानुमान गरेको थियो। “बारम्बार पूर्वसूचना दिएकै कारण सरकार र जनतामा सतर्कता बढ्यो, त्यसैले ठूला क्षति हुन पाएन,” जोशीले भने।

तर, दसैँको घटस्थापनाअघि देखिएको अर्को मौसमी प्रणाली भने बिचमै कमजोर बनेर नेपाल नआएकाले वर्षा न्यून भएको थियो। यसले विभागको पूर्वानुमानप्रति केही अन्योल उत्पन्न गरे पनि निरन्तर सूचनाका कारण विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि तयारी बढाएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्वीकारेकी छिन्।

जोशीका अनुसार, मौसम पूर्वानुमान कुनै देशमै पनि सय प्रतिशत मिल्दैन, विकसित देशहरूमा समेत अधिकतम ८० देखि ९० प्रतिशत मात्र मिल्ने गरेको छ। नेपालको भौगोलिक विविधता—सगरमाथादेखि तराईसम्मको फरक हावापानी र जैविक संरचना—ले यसलाई अझ जटिल बनाएको छ।

“नेपालमा विश्वकै अग्लो शिखरदेखि समुद्र सतह नजिकको भूभागसम्म फरक भूगोल छ। यसले मौसमी प्रणालीमा पनि फरक असर पार्छ,” जोशीले भने। “त्यसैले पूर्वानुमान मिल्दा हौसिनु वा नमिल्दा दोषारोपण गर्नु उचित होइन।”

उनका अनुसार पछिल्लो पाँच वर्षयता नेपालले मौसमी प्रक्षेपणमा उल्लेखनीय सुधार गरेको छ। हाल नेपालसँग आफ्नै मौसमी राडार, विदेशी स्याटेलाइट सूचना पहुँच, र विश्लेषण मोडलहरूमा निःशुल्क पहुँच भएकोले पूर्वसूचना प्रणाली धेरै हदसम्म प्रभावकारी बनेको छ।

जोशीले भने, “यहाँको जटिल भूगोल र प्रविधिको सीमितताबीच पनि हामी लगातार सुधारको प्रयासमा छौं। अब लड्यो भन्दैमा घोडा नचढ्नु त भएन, कोसिस गरेर राम्रो सूचना दिनु हाम्रो जिम्मेवारी हो।”

सन् २०२२ मा जर्मनी, नेदरल्यान्ड्सलगायत विकसित देशमा ठूला वर्षा पूर्वानुमान नमिल्दा जनधनको ठुलो क्षति भएको उदाहरण दिँदै उनले नेपालको अवस्था अझ जटिल रहेको उल्लेख गरे।

नेपालमा हाल ८५० वटा मौसम अनुगमन स्टेसन रहेका छन्, जसको अर्धभन्दा बढी अझै म्यानुअल रूपमा सञ्चालनमा छन्। सन् २०३० सम्म सबै स्टेसनलाई रियल टाइम डाटाबेसमा रूपान्तरण गर्ने योजना विभागको रहेको जोशीले बताए।

तर, स्रोतसाधनको अभाव र छिमेकी भारतसँग तथ्याङ्क आदानप्रदान प्रणालीगत रूपमा नचल्नु ठूलो चुनौती बनेको उनले औंल्याए। जोशीका अनुसार, भविष्यमा यदि नेपालसँग सुपर कम्प्युटरजस्ता उच्च प्रविधियुक्त उपकरणहरू आए, भने केही घण्टामै सटीक विश्लेषण गरेर मौसमी विपत्तिबाट जनधनको क्षति न्यून पार्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्