आन्दोलनको बीचमा भागेका ५ हजार ८१४ कैदी अझै फरार, ८ सय हतियार पनि बेपत्ता
काठमाडौँ, असोज २१ । गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) समूहले गरेको आन्दोलन हिंसात्मक बनेसँगै देशभरका कारागारहरूबाट भागेका ५ हजार ८१४ जना कैदी अझै कारागार फर्किएका छैनन् । त्यस्तै, आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब ८ सय हतियार पनि अझैसम्म बरामद हुन सकेका छैनन्।
आन्दोलनको अव्यवस्थाको मौका छोपेर १४ हजार ५४९ जना कैदी फरार भएका थिए। तीमध्ये पछिल्ला २८ दिनमा ८ हजार ७३५ जना कैदी स्वस्फूर्त रूपमा कारागार फर्किएको कारागार व्यवस्था विभागले जनाएको छ।
नेपाल प्रहरीका अनुसार १ हजार २५० वटा हतियार आन्दोलनका क्रममा लुटिएका थिए, जसमा २७४ वटा हतियार बरामद गरिएका छन् भने ९६ वटा जलेको अवस्थामा फेला परेका छन्। बाँकी हतियारहरू फेला नपरेकाले शान्ति सुरक्षामा चुनौती थपिएको प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।
घिमिरेले भने, “फरारमध्ये अधिकांश कैदी फर्किसकेका छन्। केही हतियार बरामद भएका छन्। बाँकी कैदी र हतियार नियन्त्रणका लागि आवश्यक कारबाही गर्न तयारी भइरहेको छ।”
सरकारले फरार कैदीहरूलाई सोमबारसम्म स्वस्फूर्त रूपमा फर्किन समय दिएको थियो। तर, अझै हजारौँ नफर्किएपछि सरकारले ‘विशेष अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।
सुरक्षा स्रोतका अनुसार फरार कैदीहरू मध्ये धेरैजसो हत्या, लागुऔषध र जघन्य अपराधमा संलग्न रहेका छन्। केहीले त गृह प्रशासन र न्यायपालिकाका अधिकारीहरूलाई धम्की दिन थालेका छन्।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार सोमबारसम्म ८ हजार ७३५ जना कैदी कारागार फर्किएका छन्। हाल देशभरका ७४ वटा कारागारमा ३० हजार ६१८ कैदीमध्ये १५ हजार ५४५ जना अझै कारागारमै रहेका छन्।
शर्माले भने, “फरार कैदीहरू जतिसक्दो छिटो आफैं फर्किउन् भन्ने अपेक्षा छ। नफर्किए कानुन अनुसार नियन्त्रणमा लिइनेछ।” विभागले सबै सुरक्षा निकाय, जिल्ला प्रशासन र सरोकारवाला निकायहरूलाई पत्राचार गरेर खोजतलास तीव्र बनाएको छ।
गत भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्केको समाचार बाहिरिएपछि देशभरका कैदीहरूले एकैसाथ कारागार तोडफोड गरेका थिए। त्यस क्रममा कैदीहरूले प्रहरी कार्यालय, सर्वोच्च अदालत, र निजी संस्था–व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए।
यसबीच नक्खु कारागारबाट फरार काभ्रेको सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेको पाइएको छ। यसरी पुनः अपराधमा संलग्न हुन थालेका फरार कैदीका कारण समग्र शान्ति सुरक्षामाथि चासो र चिन्ता बढेको छ।
अधिकांश फरार विदेशी कैदी भारतीय
फरार विदेशी कैदीहरू मध्ये अधिकांश भारतीय भएको र उनीहरू सीमा पार गरी भारत प्रवेश गरेको अनुमान गरिएको छ। उनीहरू हत्या, अपहरण, बलात्कार, चोरी, तस्करी, लागुऔषध र मानव तस्करीजस्ता अपराधमा संलग्न रहेका थिए।
विभिन्न कारागारमा रहेका १,७०० विदेशी कैदीमध्ये १,४७३ जना भारतीय थिए। तीमध्ये केही मात्रै फर्किएका छन्।
त्यस्तै, चार वटा बाल सुधारगृहबाट भागेका १,४२२ जना बालबालिकामध्ये अधिकांश अझै नफर्किएका कारागार विभागले जनाएको छ।

