धनकुटामा फरक–फरक स्थानमा दुई पुरुष झुण्डिएको अवस्थामा मृत फेला
धनकुटा, असोज २१ । धनकुटाको दुई फरक स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ। एकजना आफ्नै कोठाभित्र र अर्को घरछेउको रुखमा पासो लगाएर मृत फेला परेका हुन्।
पहिलो घटना साँगुरीगढी गाउँपालिका–४, एक्सेरुङमा भएको हो। त्यहाँका करिब ४५ वर्षीय एक पुरुष आफ्नै दिदी फूलमाया लिम्बूको घरमा पाहुना गएका थिए। उनी सोमबार साँझ करिब साढे ५ बजे घरको माथिल्लो तलाको कोठाभित्र प्लास्टिकको सुत्रीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्।
दोस्रो घटना महालक्ष्मी नगरपालिका–१, मचेपु पारी खाप्राङमा भएको हो। त्यहाँका करिब ५५ वर्षीय हिक्मत दर्जी मंगलबार बिहान करिब ८ बजे घरछेउको गोगन रुखमा कपडाको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार दुवै घटनास्थलमा प्रहरी टोली पुगेको छ। उहाँले भन्नुभयो, “दुवै घटनाबारे अनुसन्धान भइरहेको छ। घटनाको कारण अहिले पुष्टि भएको छैन, थप अनुसन्धानपछि मात्र विवरण स्पष्ट हुनेछ।”
प्रहरीले दुबै शव परीक्षणका लागि अस्पताल पठाएको र आत्महत्या वा अन्य कारणका सम्भावनामा अनुसन्धान अघि बढाइएको जनाएको छ।

